गाजाको अस्पतालमा भएको विस्फोटको नेपालद्वारा निन्दा

नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

काठमाडौँ– नेपाल सरकारले प्यालेन्टाइनको गाजा क्षेत्रमा रहेको अस्पतालमाथि भएको हमलाको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै गाजाको अल–अहली ब्याप्टिस्ट अस्पतालमा भएको हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको जनाएको हो।

हजारौँ विस्थापितलाई आश्रय दिइरहेको उक्त अस्पतालमा बुधबार शक्तिशाली बम विस्फोट भएको थियो। विस्फोटमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले सर्वसाधारणमाथि भइरहेको हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। “गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ,” परराष्ट्रको विज्ञप्ति भनिएको छ, “अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ। साथै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ। नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणको बदलास्वरूप गाजामा खाना, इन्धन र बिजुलीमा रोक लगाएको छ। उक्त आक्रमणमा विदेशी र इजरायली गरी १३ सय जनाको ज्यान गएको थियो। जवाफी कारबाहीका क्रममा इजरालयको आक्रमणबाट गाजा क्षेत्रमा दुई हजारभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।