पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो।

तस्वीर : अमित मचामसी

काठमाडौं– घरेलु टोली नेपालले मैत्रीपूर्ण खेलमा पाहुना टोली पाकिस्तानलाई पराजित गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो।

पहिलो हाफमा गोलरहित बराबरी खेलेमा नेपालले दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि फरवार्ड अन्जन विष्टको गोल नै निर्णायक रह्यो।

दोस्रो हाफमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले 'अट्याकिङ गेम' का लागि दुई मडफिल्डर परिवर्तन गरेका थिए। उनले पुजन उपरकोटीको स्थानमा आवास लामिछानेलाई सिनियर राष्ट्रिय टोलीमा डेब्यू गराएका थिए।

यस्तै, सेसेहाङ आङ्दम्बेको स्थानमा एरिक विष्टलाई मैदान प्रवेश गराएका थिए। यता, बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा नपरेका फरवार्डद्वय नवयुग श्रेष्ठ र सुनिल बल आयुष घलान र विमल घर्तीमगरको स्थानमा मैदान उत्रिएका थिए।

यता, पाकिस्तानले पनि मिडफिल्डर जाइनुल इस्कूयुको स्थानमा फरवार्ड मुहम्मद वाहिदलाई मैदान उतारेको थियो। यस्तै, मोहम्मद अफाज र आदान याकुवलाई मैदान उतारेको थियो।

खेलको अधिकांश समय गतिलो प्रहार गर्न नसकेको नेपालका लागि ८३औं मिनेटमा अन्जनले सफलता दिलाए। उनले सुनिल बलले दिएको पासमा गोल गरेका थिए।

अन्जनले गत असोज ११ गते बंगालादेशसँग भएको मैत्रीपूर्ण खेलमा पनि उनले ह्याट्रिक गरेका थिए। योसँगै अन्जनले राष्ट्रिय टोलीमा गोल संख्या ११ पुर्याएका छन्। उनी राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्।

नेपाली राष्ट्रिय टोलीबाट निरन्जन रायमाझी र हरि खड्काले समान १३ गोल गरेका छन्।