सरकारले निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने

भुक्तानी दशैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

काठमाडौँ– निर्माण व्यवसायीहरूले ६ अर्ब भुक्तानी पाउने भएका छन्। निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरूमा परिपत्र गरिसकेको छ।  

गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानीका लागि सम्बन्धित मन्त्रालयलाई परिपत्र गरिएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए।

“विभिन्न मन्त्रालय/निकायबाट गत आर्थिक वर्ष २०७९/८० मा विधिसम्मत रूपमा सिर्जना भएको पुँजीगत प्रकृतिको खर्च भुक्तानी गर्ने प्रयोजनका लागि त्रैमासिक कार्यक्रम संशोधन तथा स्वीकृतिका लागि लेखी आएकोमा तपसिलबमोजिमको अधीनमा रही सिर्जित दायित्व यकिन गर्ने औचित्य पुष्टि गर्ने, कार्य प्रगति सुनिश्चितता गर्ने, जिम्मेवारी एवं आवश्यकता र जबाफदेहितासम्बन्धी मन्त्रीस्तरीय नीतिगत निर्णय भएको छ” भुक्तानी दिने सम्बन्धमा अर्थले सम्बन्धित मन्त्रालयले पठाएको निर्णयमा भनिएको छ। 

उक्त भुक्तानी दशैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ।