एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र  आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे। 

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्।

बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र  आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे। 

प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले घोषणा गरेको परिणाम अनुसार संघको महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। जोशीले दुई हजार ३७ मत प्राप्त गरेर विजयी हुँदा प्रत्याशी बुद्धिसागर सुवेदीले एक हजार ८१८ मत प्राप्त गरे। 

यस्तै, उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोसन थापा विजयी भए।

उपमहासचिवमा प्रवीन गुरुङ र सोमनाथ सापकोटा निर्वाचित भएका छन्। सचिवमा भीम केसी , डा. ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणि पोखरेल र स्वतन्त्रप्रताप शाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

यसैगरी, महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदनकुमार थापा तथा सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरे विजयी भए।

यता, अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्माले भने अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरिएको आरोप लगाएका छन्। उनीहरूले नतिजा स्वीकार नगर्ने बताएका छन्।

 “यो निर्वाचन रद्द हुनुपर्छ,” श्रेष्ठले भने, “यसमाथि गम्भीर छानबिन र दोषीलाई कारबाही हुनुपर्छ।” 

एनआरएनएको नयाँ नेतृत्वका लागि नेपालमा बिहीबार र विदेशमा रहेका नेपालीले भने अनलाइनमार्फत मतदान गरेका थिए।