दशैँदेखि तिहारसम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर, अहिले ती डाँडा र चौतारा सुनसान छन्। मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक नै कम हुने गरेको छ।
ढोरपाटन– केही वर्ष अगाडिसम्म दशैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिंगे पिङ देखिन्थे। बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे। पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो। वर्षौँदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो।
दशैँ शुरू भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन्। कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन्। गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन्। दशैँको मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ।
बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिंगे पिङ बनाउनेप्रति चासो घटेको बताए। वर्षमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाको भनाइ छ। मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिंगे पिङप्रति चासो हराउन थालेको हो। पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उनको भनाइ छ। दशैँ आउनुभन्दा एक साता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरू जम्मा भएर बाँसको लिंगो गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा संकटमा परेको हो।
“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, बाउबाजेले वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दशैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो,” उनले भने, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्।” गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका संगीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताए। दशैँका बेला गाउँमा वर्षौँदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउने गरेको थियो।
पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरी नै बलियो बन्ने मान्यता रहेको केसीको भनाइ छ। आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरूको विवाहसमेत हुने गरेको सुनाए। पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उनको भनाइ छ।
“पिङ बिनाको दशैँ त रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच/छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उनले भने। पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडासमेत भत्काएर कुरूप बनाएको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
