राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद

अरनिको राजमार्गमा सवारी जाँचका क्रममा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

फाइल तस्वीर

काभ्रेपलान्चोक– इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ। 

बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

ट्रकमा धानको बोराले छोपी ल्याएको अन्दाजी पाँच लाख ९८ हजार मूल्य बराबरको चिनी र २८ बोरा अन्दाजी ४२ हजारको धान बरामद गरिएको डीएसपी राजकुमार श्रेष्ठले बताए। 

जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैध रूपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको  हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको उनले बताए।