इन्डोनेसियाको बालीमा खडेरीजन्य आपत्‌काल घोषणा

बालीमा डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको बताइएको छ। 

इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तमा खडेरीका कारण आपत्‌कालीन सतर्कता घोषणा गरिएको छ।  

खडेरी प्रकोप नरोकिएपछि प्रान्तीय सरकारले १४ दिनसम्मका लागि सतर्कता घोषणा गरेको हो। बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले शुक्रबारदेखि १४ दिन विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको बताएका छन्।

बालीमा जुलाईदेखि अक्टोबरसम्मको विषम मौसमी अवस्थाका कारण प्रान्तको राजधानी डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको बताइएको छ। 

खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायत कार्य अगाडि बढाएको र बलिरहेको आगो निभाउने प्रयास भइरहेको गभर्नर महेन्द्रले बताएका छन्।