सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै व्यापारको तौरतरिका फेरिएको छ। टिकटक विज्ञापनको नयाँ माध्यम बन्दै जाँदा यसले उपभोक्तालाई भ्रममा पारेर पसलको व्यापार पनि खस्काइदिएको व्यावसायीको गुनासो छ।
काठमाडौँ– चाबहिलको गणेशस्थानस्थित ‘सारी कुर्था कलेक्सन’मा पुग्दा त्यहाँकी सञ्चालक सुक्रिया तामाङ टिकटक लाइभमा बसेर सामानहरू देखाउँदै थिइन्। डेढ वर्षअघि व्यवसाय शुरू गरेकी तामाङले आजभोलि प्रायः सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्रामबाटै सामानको विज्ञापन गर्छिन्।
तामाङको टिकटकमा १४ हजार १०० 'फलोअर्स' रहे पनि उनले पोस्ट गरेको कपडाको ‘भ्युज’ दुई लाखसम्म छ। पसलमा भौतिक रूपमा उपस्थित भएर किन्नेभन्दा पछिल्लो समय टिकटकमा देखेरै धेरै अर्डर आउने गरेको उनी सुनाउँछिन।
“टिकटकमा विज्ञापन गरेर घर बसी बसी व्यापार गर्नेहरू बढे। दिनभर ग्राहकको पर्खाइमा हुने पसलेहरू ट्वाल्ल हेरेर बस्नुपर्ने अवस्था आयो। टिकटक बाहेक अरू अप्सन नै नदेखेपछि अब हामीले पनि यसरी नै व्यापार गर्नुपर्छ भनेर थाल्यौँ,” उनले भनिन्, “भ्युज पनि राम्रो आयो। पहिला घरमै नाचेर टिकटक बनाउँथ्यौ, अब सामान देखाएर नाच्छौँ।” पसलमा प्रत्यक्ष आएका ग्राहकबाट भन्दा पनि अनलाइनबाट नै धेरै माग आउने गरेको उनी बताउँछिन।
व्यापारको लागि विज्ञापन गर्ने राम्रो माध्यम टिकटक भए पनि यसमा धेरै समस्या रहेको र कतिपयले दुरूपयोग पनि गरिरहेको उनी ठान्छिन्। “यसको दुरूपयोग पनि भइरहेको छ। आफू चर्चित हुन फेक अकाउन्ट बनाउने अनि आउँदै नआउने मूल्य राखेर टिकटकबाट सामानको विज्ञापन गर्ने गरेकोे पनि पाइयो,” तामाङ भन्छिन्, “मेरै पुराना टिकटक कतिले डाउनलोड गरेर भाइरल बनाउँछन् अनि म्याम, टिकटकमा भेटेको, तपाईंसँग यो सामान रहेछ, दिनुपर्यो भन्छन्। जबकि मैले ती सामान ६ महिना अघि नै बेचिसकेको हुन्छु।”
पछिल्लो समय नेपाली बजारमा स्थापित ब्रान्डहरूले पनि आफ्नो विज्ञापनको राम्रो माध्यमका रूपमा टिकटकलाई प्रयोग गर्दै आएको पाइन्छ। ‘क्यालिबर सुज बीजी मल’ नामक टिकटक आईडीको २४ हजारभन्दा बढी फलोअर्स छन्। त्यसमा सोही ब्रान्डका जुत्ताको विभिन्न डिजाइन राखिएका छन्। त्यहाँ पोष्ट गरिएका कतिपय भिडियोहरू आठ लाख पटकसम्म हेरिएको छ।
त्यस्तै, गोल्डस्टार सोरुम चाबहिलको टिकटक आईडीका फलोअर्स पनि ५६ हजारभन्दा बढी छन्। त्यसमा गोल्डस्टार जुत्ताका विभिन्न डिजाइन राखेर विज्ञापन गरिएको छ। यसैगरी कस्मेटिक सामग्री पाइने ‘प्रिटीक्लिक नेपाल’ स्टोरको इन्स्टाग्राममा एक लाख ५० हजार र टिकटकमा करिब ८५ हजार फलोअर्स छन्। त्यहाँ विभिन्न विदेशी ब्रान्डका कस्मेटिक सामग्रीहरूको विज्ञापन गरिन्छ।
ललितपुरको मानभवन, जावलाखेलमा रहेको ‘ड्रेस क्याम्प’ले टिकटक र इन्स्टाग्रामलाई आफ्ना सामानको बिक्री प्रबर्द्धन गर्ने ‘प्लेटफर्म’को रूपमा उपयोग गर्छ। टिकटकमा १२ हजार ७०० र इन्स्टाग्राममा १८ हजार ३०० फलोअर्स रहेको ड्रेस क्याम्पका सुदीप तिमिल्सिना यस्ता पेज प्रचारप्रसारका लागि उपयुक्त हुने बताउँछन् ।

“हाम्रो सामाजिक सञ्जालको उपस्थिति हेरेर सामान किन्न आउनेहरू त छन्। तर पेजबाट अर्डर निकै कम आउँछ। सबैले सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले हामीलाई पनि उपस्थित हुनैपर्ने बाध्यता छ । बिक्रीमा ठूलो सहयोग नभए पनि प्रचारमा टेवा नै पुगिरहेको छ,” उनले भने। नेपालमा कपडाहरू अनलाइन अर्डर गर्ने बानीको विकास हुँदै गरेकाले छिट्टै नै यस्ता प्लेटफर्महरूबाट बिक्री बढ्ने उनको अपेक्षा छ ।
काठमाडौँको बालुवाटारमा रहेको ‘क्रियटिभ नेपाल प्रडक्ट’की सञ्चालक अदिती साह पनि फेसबुक, इन्स्टाग्रामबाटै आफ्ना सामानहरूको विज्ञापन गर्छिन्। कोभिडकालमा अनलाइन व्यवसाय शुरू गरेकी उनले अहिले स्टोर नै खोलेकी छन्। पसलमा आउनेहरूमध्येका धेरैजसो ग्राहक सामाजिक सञ्जालमा आएका विज्ञापन देखेर आउने गरेको उनी बताउँछिन्। “अनलाइन प्लेटफर्मबाटै देखेर पसलमा आउनुहुन्छ। शुरू शुरूमा एक/दुई वटा अर्डर मात्र आउँथ्यो। पछि राम्रो भएपछि थरी थरीका सामानहरूको अर्डर आउँछ। हामी पनि अनलाइन सपिङ गर्थ्यौं। नराम्रो सामान आयो भने सपिङ गर्न छोड्छौँ नि हामी पनि, त्यस्तै हो यो व्यवसाय। इमानदार हुनुपर्छ,” उनले भनिन।
बालाजु, नेपालटारमा ‘कोरियन लुक्स’ सञ्चालन गर्दै आएका राजकुमार थापाको अनुभव भिन्न छ। उनी आफैँ अनलाइन प्लेटफर्म सञ्चालन गर्दैनन्। तर अनलाइनका लागि सामान उपलब्ध गराउँछन्। विभिन्न डिजाइनका कपडाको तस्वीर राख्छन् र अर्डर लिन्छन्। उनका अनुसार बिक्रीमा अनलाइन र सामाजिक सञ्जालको प्रभाव राम्रो छ। थापा भन्छन्, “सामाजिक सञ्जालबाट बिक्री गर्दाको एउटा झन्झट चाहिँ कपडा फिट नहुँदा वा साट्ने बेलामा पर्छ। त्यसैले नचिनेका मानिसलाई बिक्री गर्नुभन्दा अनलाइन पसल सञ्चालन गर्नेरूलाई सोझै सामान बिक्री गर्न सजिलो हुन्छ।”
थापाका अनुसार सामाजिक सञ्जालमा सामानको ‘सेल’ लागेको प्रचार गर्न सकिए पसलबाटै बिक्री गर्दा सजिलो हुन्छ। सामाजिक सञ्जालबाट मात्र बिक्री गर्ने अवस्थाको विकास अहिले भइनसकेको उनले बताए।
टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताको सख्या बढेसँगै व्यापार गर्ने तौरतरिका फेरिएको छ। लत्ताकपडा, उपभोग्य वस्तु, लगायतको लागि टिकटक विज्ञापनको लोकप्रिय माध्यमको रूपमा विकसित हुँदै गए पनि यसले उपभोक्तामा भ्रम सिर्जना गर्नुका साथै पसलको व्यापार पनि खस्काएको केही व्यवसायीको गुनासो छ।
काठमाडौँ, भोटाहिटीका राजु शाक्य टिकटकले आफ्नो व्यवसायमा असर पारेको गुनासो गर्छन्। “कतिपय ग्राहकहरू टिकटक देखाउँदै यस्तै खालको सामान छ भन्दै पसलमा सोध्न आउँछन्। टिकटकबाट विज्ञापन गर्नेले भाइरल हुन होलसेल रेटभन्दा पनि कम मूल्य राख्दा रहेछन्। उपभोक्ताहरू त्यही मूल्यमा सामान खोज्दै आउँछन् जुन सम्भवै छैन।”
सजिलो विज्ञापन र सुविधाजनक व्यापारका नाममा सामाजिक सञ्जालको प्रयोग जथाभाबी गर्दा उपभोक्तामा भ्रम सिर्जना भई व्यापार पनि प्रभावित भएको उनको भनाइ छ। आर्थिक मन्दीले व्यापार नै खस्केका बेला पसलमा बसेर ग्राहक पर्खने व्यवसायीहरूलाई अनलाइन र टिकटकले झनै मारमा पारेको शाक्य सुनाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
