बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ।
म्याग्दी– बेनी अस्पतालको बहिरंग विभाग (ओपीडी)मा बिहीबार बिहान ८ बजे पुगेका बेनी नगरपालिका–६ का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए।
“दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए,” उनले भने, “ओपीडीमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए।”
बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दंग छन्। “सरकारी अस्पतालको बहिरंग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानु परेन,” उनले भने, “कार्यालय समयमा फुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ। धेरै लाइन बस्नु पनि परेन।”
बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ। बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो। बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरंग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ।
गत असोज २१ गतेदेखि परीक्षणका लागि शुरू गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रूपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डा. अन्जु थापाले बताइन्। “एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरंग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ,” उनले भनिन्, “दैनिक ६० जनाभन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ।”
कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।
“समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरंग कक्ष चलाउन थालेका हौँ,” उनले भने, “अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभाबी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ।”
अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ। अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन। अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ।
हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोकसेवा आयोगबाट प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ। अस्पतालमा जनशक्ति अभाव हुन नदिने गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले बताइन्। “सीमित जनशक्ति र पूर्वाधारका बीच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ,” उनले भनिन्, “दरबन्दीअनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै शुरू गर्छौं। अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गर्छौँ।”
मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलोपटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताए। २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ। दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने गरेका छन्।
अस्पतालले अन्तरंग र बहिरंग विभागका साथै शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
