डुंगाको तीव्र गतिले खतरामा उत्तरी आन्ध्र महासागरमा पाइने ‘राइट ह्वेल’

ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।

उत्तरी आन्ध्र महासागरमा ठूला डुंगा चल्दा ‘राइट ह्वेल’को सुरक्षामा खतरा देखिएको छ।

करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’का लागि बनाइएका ‘स्लो जोन’मा तीव्र गतिमा गुड्ने डुंगाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुने गरेको समाचार संस्था एएफपीले जनाएको छ। 

गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।

“डुंगाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन्,” ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, “ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुंगाको ठक्कर पनि एक हो।”

ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेको रिपोर्टमा उल्लेख छ। सन् २००८ देखि अमेरिकाको ‘नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट (१९.८ मिटर) वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ।

तर, सन् २०२० नोभेम्बरदेखि सन् २०२२ जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वैच्छिक क्षेत्र हुँदै यात्रा गरेको संकलित तथ्यांकले देखाएको छ। सो अवधिमा नौ हजार ३५८ जहाजले यात्राको गतिको सीमा उल्लंघन गरेकोमा एनओएएले ४६ वटा जहाजलाई मात्र जरिबाना लगाएको थियो। उनीहरूलाई औसत १५ हजार ६०० अमेरिकी डलर तिराइएको थियो।

लम्बाइ ६० फिटसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को संख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ। रिपोर्टमा भनिएको छ, “यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकोले ह्वेल सिकारीहरूको छनोट ‘राइट व्हेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे।” 

२०औँ शताब्दीको मध्यदेखि उत्तरी आन्ध्र महासागरमा राइट ह्वेलको व्यावसायिक सिकारमा प्रतिबन्ध लगाइएको थियो। जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको संख्या ४८३ पुगेको थियो। गत फेब्रुअरीमा मध्य एटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो।

“संख्या पहिले देखि नै कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको संख्यामा नकारात्मक असर देखिन सक्छ,” रिपोर्टमा भनिएको छ, “ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ, र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना संकलनका लागि डुल्ने आधार परिवर्तन भइरहेका छन्।”

ओसियानाको रिपोर्टले ह्वेलको सुरक्षाका लागि न्यून गतिका क्षेत्र अद्यावधिक गर्न, स्वैच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजमा सुरक्षा नियम विस्तार गर्न आह्वान गरेको छ।