वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

“संसारमा नभएका जीवजन्तुहरू जुन हाम्रा सम्पती हुन् ती हेर्न पर्यटकहरू आउनेछन्। यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ,” उनले भने, “आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबीचको द्वन्द्व हो।” उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए।

उनले जीवनजन्तु बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट समस्याहरू सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। “जीवजन्तु बढाउँदै गर्दा कृषकका लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ, अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन्, यसमा सबै मिलेर समाधान गर्नुपर्छ,” उनले भने।

मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए।