एनआरएनए निर्वाचन विवाद: साइबर ब्युरोमा पुग्यो निवेदन

कात्तिक २ गतेको मतदानपछि आएको नतिजासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चुलिएको छ।

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद झनै बढ्दै गएको छ। कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो। निर्वाचनको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ। 

महासचिवका प्रत्याशी बुद्धि सुवेदीले निर्वाचन अपेक्षित नभएको गुनासो गरे। भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको, अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास गर्न नसकिने उनको भनाइ छ।

अमेरिकामा पनि यस्तो नतिजा आएका त्यहाँ धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताए। उनले निर्वाचनको नतिजाबाट ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको उल्लेख गरे। “उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको नेपालबाट शून्य मत खसेको देखिनुले पनि स्वतः सिद्ध हुन्छ,” उनले भने। 

उनले नेपाल प्रहरीको साइबर ब्युरोमा समेत यस विषयमा निवेदन दिइएको सुनाए। उनले आफूलाई प्राप्त पछिल्लो जानकारीअनुसार परराष्ट्र मन्त्रालयले पनि  निर्वाचन प्रक्रियालाई स्थगित गर्न र मान्यता नदिन भन्ने परिपत्र गरेको उल्लेख गरे।

उपाध्यक्षमा निर्वाचित हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई सबैले स्वीकार गर्न सक्नुपर्ने बताए। एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु नै विवादको जड रहेको उनले बताए। मत गणना गर्न त्रुटि भएको हुनसक्ने उनको भनाइ छ। उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने, पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको सुनाए।