राष्ट्रसंघका महासचिवले कात्तिक १४ गते संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।

काठमाडौँ– इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण तय भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो।

नेपाल बसाइँका क्रममा उनले नेपालको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो।

सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए। “अब संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सोसम्बन्धी आन्तरिक तयारीमा र्छौं,” उनले भने।

उनले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरू गरिसकेको पनि बताए। महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलगायतका विशिष्ट सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिनेछ। 

प्रवक्ता गिरीले प्रतिनिधिसभा बैठक कात्तिक १२ गते बोलाइएको, राष्ट्रसंघका महासचिवको सम्बोधनबारे सोही बैठकमा प्रतिनिधिसभा सदस्यलाई जानकारी गराइने र राष्ट्रियसभाका लागि सूचना जारी गर्न सकिने बताए।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए। पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा दोस्रो कार्यकाल हो।