टालटुले गठबन्धन देशका लागि घातक छ: ओली

एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्न र देश लुटेर खानका लागि बनेको दाबी गरे। सो गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने उनले जिकिर गरे।

सुनसरी– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गठबन्धन मुलुकका लागि घातक भएको बताएका छन्।

सुनसरी-४ को चुनावी सभालाई सम्बोधन गर्दै बुधबार अध्यक्ष ओलीले गठबन्धन दललाई 'पत्रु' गठबन्धनको संज्ञा दिएका हुन्। उनले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्ने र देश लुटेर खानका लागि बनेको दाबी गर्दै देशलाई विकास र समृद्ध बनाउन नसक्ने बताए।

अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक भएको बताए। गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई आसन्न निर्वाचनमा मतदाताले जवाफ दिने बताए। 

उनले भने, "टुटेफुटेका हाँडीजस्तै पत्रुहरू भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन। यिनीहरूको गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो। त्यस्तो गठबन्धनले अनि देश बनाउँछ?"

अध्यक्ष ओलीले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा वास बस्न पुगेको बताए। सुनसरी-४ मा एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ।