हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन: प्रधानमन्त्री

शनिबार दशैँको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्किने या अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन्।

शनिबार दशैँको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन्। 

“यतिखेर मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको छ,” उनले भनेका छन्, “यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ। जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामूहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो।”

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।