हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइयाे फूलपाती

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।

काठमाडाैँ– हनुमान ढोकास्थित दशैँघरमा फूलपाती भित्र्याइएको छ। नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत फूलपातीको अवसरमा शनिबार कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँघरमा फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारमा पुजारीसहित शनिबार अपरान्ह दशैँ घरमा भित्र्याइएको छ। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।

फूलपातीको अवसरमा नेपाली सेनाले शनिबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो।