कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गर्नेसमेत चलन छ।
काठमाडौँ– दशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ।
यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी महाअष्टमी पर्व मनाइन्छ।
यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।
राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो।
उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरमा पनि बलिसहित पूजा आजा गर्नेको भीड लाग्ने गर्छ।
यसैगरी गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलान्चोकको चण्डेश्वरी, नाला भगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिन्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ।
यस दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गर्नेसमेत चलन छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो। देवीका शस्त्र अस्त्रसहित चतुरंगीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ। पशुबलि नचढाउनेले भने पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मुला र नरिवल आदि बलि चढाई पूजा गर्छन्।
राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ। राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
