ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष भन्छन्– २०७२ कोभन्दा ठूलो धक्का महसुस भयो, केही घर भत्किए

भूकम्प गएपछि स्थानीयहरू घरबाहिर निस्किएर बसेको उपाध्यक्ष अर्यालले बताएका छन्। उनका अनुसार ठूलो धक्कापछि स–साना धक्काहरू गइरहेका छन्।

काठमाडौँ– आइतबार बिहानको भूकम्पको केन्द्रबिन्दु रहेको धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले २०७२ सालको भन्दा ठूलो धक्का महसुस गरेको बताएका छन्। 

भूकम्प गएपछि सबै घरबाहिर निस्किएर बसेको उनको भनाइ छ। बिहान ७:३९ बजे उक्त गाउँपालिकाको ५ नम्बर वडाको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प भएको थियो। 

“२०७२ सालको भूक‍म्पको भन्दा ठूलो धक्का दियो। अहिले सबै घरबाहिर निस्किएर बसेका छौँ,” उनले उकालोसँग भने, “भूकम्पको केन्द्रबिन्दु रहेको गाउँ बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र हो। पुराना तथा जीर्ण घरहरू भत्किएका छन्। अरू क्षतिको जानकारी छैन।” उनका अनुसार ठूलो भूकम्पपछि स–साना पराकम्पहरू पनि गइरहेका छन्।

केन्द्रबिन्दु रहेको स्थान डुबान क्षेत्र पर्ने भएकाले त्यहाँका धेरै स्थानीयले मुआब्जा लिएर पहिले नै घर छाडिसकेका थिए। ती खाली घरहरू भूकम्पले भत्किएको उपाध्यक्ष अर्यालले बताए। मानिस बसिरहेका घरहरू भने भत्किएको जानकारी प्राप्त नभएको उनको भनाइ छ।