इजरायलमा मृत्यु भएका ३ विद्यार्थीको शव काठमाडौँ ल्याइयो

आशिष चौधरीको शव आइतबार दिउँसो आइपुग्दै छ। त्यसपछि चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी लगिने छ।  

तस्वीर: रासस

काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये तीज जनाको शव नेपाल ल्याइएको छ।

दीपेश विष्ट, लोकेन्द्रसिंह धामी र नारायणप्रसाद न्यौपानेको शव आइतबार बिहान नेपाल ल्याइपुर्‍याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीन वटै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदलगायतले शवमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

अर्का विद्यार्थी आशिष चौधरीको शव भने आइतबार दिउँसो आइपुग्दै छ। परराष्ट्र मन्त्रालयका अनुसार त्यसपछि चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने छ।  

अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ। नेपाली विद्यार्थीहरू गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए।