मिथिलामा सन्तानको कामना गर्दै खोइँछ भर्ने विधि सम्पन्न (तस्वीरहरू)

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।

धनुषा– मिथिला क्षेत्रका शक्तिपीठहरूमा आइतबार विशेषा पूजा विधि सम्पन्न भएको छ। मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन्।

नवरात्र शुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरूले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन्। भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।

मिथिल क्षेत्रका शक्तिपीठहरू, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो। खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको संस्कृतिविद्हरू बताउँछन्। 

यता खोइँछ भरी विधिका लागि सामान्य प्रशासनमन्त्री अनिता साह समेत पुगेकी थिइन्। उनले मिथिला सौभाग्यवती महिलाले गर्ने विधिका लागि आफू पनि राजदेवी माताको आशीर्वादका लागि आएको बताइन्।