नवरात्रको अन्तिम दिन: तलेजु भवानीको मन्दिर खोलिँदै

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्छ। 

काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिरमा पूजा एवं दर्शनका लागि लामबद्ध भक्तजन। तस्वीर: रासस

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

महानवमीका दिन दुर्गा पूजालगायत कार्य गरी घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी) एवं देवी स्तोत्र पाठ गरिन्।

 पशुबलि नदिने र शाकाहारीले भने कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ। 

मार्कण्डेय पुराणका अनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैघरमा नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।

कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

तलेजु भवानी मन्दिर खोलिँदै
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

मूलचोकम महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ।