भद्रकालीमा सवारीपूजा गर्नेको भिड (तस्वीरहरू)

महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्। 

काठमाडाैँ– काठमाडौँको भद्रकाली मन्दिरमा सोमबार सवारीसाधन पूजा गर्नेको भिड लागेको छ।

बडादशैँअन्तर्गत महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो सोरुम, अटो वर्कसप तथा आफ्ना निजी सवारीहरूको पूजा गर्ने चलन छ। महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्। यसरी पूजा गर्नुअघि साधनहरू धोइपखाली गरिन्छ।

यस दिन विशेषतः अटो शोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स साधनहरूको विशेष पूजाअर्चना गर्ने गर्छन्। विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ। नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ। विश्वकर्मा जयन्तीमा पनि अटोमाेबाइल्सको पूजा गर्ने चलन रहेको छ।