प्याराग्लाइडिङ गर्दै परराष्ट्रमन्त्री साउदले भने– पोखरामा पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।

कास्की– परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन्। पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे।

प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।

सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था(ना) का महासचिव खेम आचार्यले जानकारी दिए।