प्रधानमन्त्रीको दशैँ छैन, पारिवारिक भेटघाटमा व्यस्त हुने

तीन महिनाअघि पत्नी गुमाएका प्रधानमन्त्री दाहालले यसपटक दशैँको टीका लगाउने छैनन्। तर, पारिवारिक भेटघाटमा भने उनी व्यस्त हुने छन्। 

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक बडादशैँको टीका नलगाउने भएका छन्। 

पत्नी सीता दाहालको निधन भएका कारण उनले टीका नलगाउने भएका हुन्। प्रधानमन्त्री दाहालकी पत्नी सीताको गत असार २७ गते ६९ वर्षको उमेरमा निधन भएको थियो। 

त्यसैले यसपटक मंगलबार सरकारी निवास बालुवाटार सुनसान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए। तर, प्रधानमन्त्री दाहाल टीका नलगाए पनि पारिवारिक भेटघाटमा व्यस्त रहने छन्। 

यसअघि विजयादशमीका दिन प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्ने विशिष्ट र सर्वसाधारणको बालुवाटारमा भीड लाग्ने गर्थ्यो।