म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।
म्याग्दी– ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो। हृष्टपुष्ट र अग्लो कद भएका युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर पहलमानको सम्मान (माल) पाउने भन्ने हुन्छ।
धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।
ताकमकोतमा सोमबार भएको परम्परागत छेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि– ७ का ३४ वर्षीय अशोक खत्रीले जितेका छन्। सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका छन्।
८.५ किलो तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए। यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन्। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए।
पश्चिम म्याग्दीको महत्त्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ। यसअघि २०७८ र २०७९ मा विजयी भएका मालिका–१ निस्कोटका याम परियार दोस्रो बने। २०७१ देखि २०७७ सालसम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएनन्। २०७९ सालमा यामसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जित्न सहयोग गरेको उनको भनाइ छ।
“२०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रूपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन,” खत्रीले भने, “यसपालि करिब एक महिनादेखि तयारी गरेको थिएँ। सफल भएँ। खुशी छु।” मालको सम्मानले समाजमा स्थापित गराउन र गत निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ।
भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका उनले स्नातक तहको शिक्षा हासिल गरेका छन्। जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने उनको लक्ष्य छ। खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपाध्यक्ष रेशम छन्त्याललगायतले सम्मान गर्नाका साथै स्थानीयवासीले काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए।
माललाई फेटा गुताएर सम्मानका साथै नगद उपहार दिने चलन छ। म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।
१२४६ देखि १५४५ सालसम्म बगाले थापाको र १५४६ देखि १८८२ सालसम्म मल्ल राजाले कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् ।
जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। यस वर्षको दशैँको नवमीका दिन करिब पाँच हजारभन्दा बढीले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताए।
कोतघर र मन्दिर पुनः निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ। समुद्री सतहदेखि दुुई हजार २०० मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
