स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट मड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो।

तस्वीर: एएफपी

स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृति बरामद गरेको छ। ती आभूषण चोरी गरेर अवैध रूपमा युक्रेनबाट बाहिर लगिएको थियो। 

हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ संग्रहालयमा प्रदर्शन गरिएको थियो। ती सुन सन् २०१६ भन्दा पहिले युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले विज्ञप्तिमा बताएको छ। ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ। 

यस्तै, प्रहरीले तीन स्पेनी र दुई युक्रेनी नागरिक (तीमध्ये एक अर्थोडक्स चर्चका पादरी)लाई पक्राउसमेत गरेको छ। कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अंग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो। “यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन,” प्रहरी प्रवक्ता अना रामोनले भने। 

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट मड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो। उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । 

ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्त्व संग्रहालय र मुलुकको संस्कृति सम्पदा संस्थानले गरिरहेका छन्।