हमासले विना सर्त रिहा गर्‍यो बन्धक बनाइएका दुई इजरायली महिला

कतार र इजिप्टको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको हमासका प्रवक्ताले बताएका छन्।

प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धका क्रममा बन्धक बनाइएका दुई इजरायली महिलालाई रिहा गरेको छ।

रिहा गरिएकामध्ये योकभेद लिफसिज ८५ वर्ष र नुरित कुपर ७९ वर्षको रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ। कतार र इजिप्टको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको हमासका प्रवक्ताले बताएका छन्। सोमबार हमासका प्रवक्ता आबु ओबैदाले आफ्नो टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै ती महिलाहरूको स्वास्थ्य अवस्था बिग्रिँदै गएका कारण रिहा गरिएको बताएका थिए।

उनीहरूलाई अहिले तेल अविवमा ल्याइसकेको छ। अक्टोबर ७ मा हमासले इजरायलको किबुत्जबाट ती महिलाका श्रीमानसहित घरबाटै बन्धक बनाएर लिएको थियो। उनीहरुका ८३ र ८४ वर्षका श्रीमानहरूलाई भने रिहा गरेको छैन।

यी बन्धकलाई रिहा गर्नको लागि हमासले बदलामा केही नमागेको बताइएको छ। हमासले केही दिन पहिले एक अमेरिकी महिला र उनकी छोरीलाई पनि रिहा गरेको थियो।

हमासले २०० भन्दा धेरैलाई बन्धक बनाएर राखेको इजरायलको भनाइ छ। अक्टोबर ७ कै हमलामा किबुत्ज क्षेत्रबाट सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नै बन्धक बनाएर राखेको बताइए पनि यकिन हुन सकेको छैन। उद्धार गरिएका विपिनका साथीहरूले भने उनलाई हमासका लडाकुहरूले लिएर गएको बताएका छन्।