डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए। नातिनीको जन्म पनि उतै भयो। तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो।
पाल्पा– बडादशैँको टीकाको साइत शुरू हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन्। नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए।
“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो। तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा,” घिमिरेले भनिन्, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए। नातिनीको जन्म पनि उतै भयो। तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो।
अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी भए। टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए।
सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताए। वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ।
न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रूपमा लिन्छन्। “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो,” उनले उत्साहित हुँदै भने।
अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले बताइन्। उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको भन्दै खुशी व्यक्त गरिन्।
अमेरिकी रुहानी, नेपाली प्रेयंका
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयंका राखे। “आफ्नो संस्कार अनुरूप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उनले भने।
तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाइन्। “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ। जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुशी भएँ। गर्व महसुस गरेँ,” उनले भनिन्। नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाए।
भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ। मानिसहरू रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट शहर र शहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ। भौतिकरूपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरूपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ।
शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरूलाई सामेल गराउन पाएकोमा खुशी व्यक्त गरे। अनलाइनमार्फत यस्ता कर्म शहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
