राष्ट्रपतिको हातबाट टीका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण

राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा लगायत उच्चपदस्थ अधिकारीसहित सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दशैँको टीका लगाइदिएका छन्।

मंगलबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको महान चाड बडादशैँको उपलक्ष्यमा टीका लगाइदिएका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएका छन्।

राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि टीका लगाइदिएका छन्। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन्।

टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामवद्ध छन्। यसअघि विजया दशमीको शुभ साइतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिएका थिए। त्यस्तै उनले विजया दशमीको दिन भाउजू विष्णुमाया पौडेलेको हातबाट बडादशैँको टीका ग्रहण गरेका थिए।