सौराहामा विदेशी पर्यटकले मनाए दशैँ, टीका र जमरा थाप्न पाउँदा दंग

वन्यजन्तु तथा प्राकृतिक सुन्दरताका साथै दशैँ, तिहारलगायत चाडबाडले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ।

चितवन– चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैँ मनाएका छन्। हिन्दूहरूको विशेष चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्। 

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए। उनीहरूसँगै क्षेत्रीय होटलसंघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दंग देखिन्थे।

नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविड राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैँ मनाउन पाउँदा निकै खुशी थिए। “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपाली”, उनले भने।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थिन्। उनले आगामी वर्ष पनि  नेपालमा आएर दशैँ मनाउने बताइन्। “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,” विदेशी पर्यटक माइकाले भनिन्।

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन्। नेपाली चाडबाडका बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरूको मुख्य उद्देश्य  रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए।  “हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैँमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुंगा सावित हुनेछ।”

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ। दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गंगा गिरीले जानकारी दिइन्। पर्यटकलाई यहाँका वन्यजन्तु तथा प्राकृतिक सुन्दरताका साथै दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चंगाचेटमा उनीहरू रमाउने गरेका छन्।