लिम्बू समुदायमा हराउँदै दशैँ मान्ने परम्परा

पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ। 

फुङ्लिङ– विगतका वर्षहरूमा लिम्बू समुदायको दशैँ मार हन्ने र धुमधामसँग दशैँ मान्ने परम्परा तथा संस्कृति थियो।

नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैँ मान्ने परम्परा रहिआएको थियो। तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैँ परम्परा हराउँदै गएको छ ।

किपोट, सुब्बा, बैदार, सुभांगीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूमा दशैँ मान्ने संस्कृति पनि लोप हुँदै गएको हो। आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले बताए। 

लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैँ मनाउने गरेको पाइन्छ। धर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भाव तथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन्। गैरहिन्दु अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ। तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैँ दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन्। सुब्बाको प्रतीक स्वरूप निशान प्रदर्शनसमेत गर्ने गरेका छन्। पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ। 

लिम्बू समुदायले मनाउँदै ल्याएको दशैँ टीकाको दिन आफूभन्दा सानालाई दही अक्षताको सेतो टीका लगाई आशीर्वाद दिने साथै गच्छेअनुसार दक्षिणा दिने चलन छ। यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दशैँ मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दशैँ सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन्। पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैँ मनाउन र टीका लगाउन बाध्य बनाइएको पालुङवाले बताए। 

“राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभांगीजस्ता अधिकार दिइएको र दशैँ नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर टीका लगाएको इतिहास छ,” उनले भने, “शरूमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेका हुन्।”

लिम्बूलाई दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरूप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउने गरेका छन्। लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैँ मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले  बताए। 

पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दशैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्च बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ।