गाजामा इजरायली हमला झन् उग्र बन्दै, एकैदिन ७०० भन्दा धेरैको मृत्यु

लेबनानसँगै सिरिया पनि युद्धमा अघि सरेको छ। इजरायली सेनाको आक्रमणमा ८ सिरियाली सेनाको मृत्यु भइसकेको छ। सिरियाका सरकारी मिडियाका अनुसार थप ७ सिरियाली सेना घाइते भएका छन्।

इजरायल हमासबीच जारी युद्धमा गाजा क्षेत्रमा हताहतीको संख्या दिनप्रतिदिन बढीरहेको छ। इजरायली सेनाको हवाई आक्रमणबाट मंगलबार मात्रै गाजामा ७०० भन्दा धेरै प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य अधिकारीको भनाइलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।

प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच अक्टोबर ७ देखि जारी युद्धमा एकै दिन यति धेरैको संख्यामा ज्यान गुमाएका हुन्। यसअघि अक्टोबर १७ मा गाजाकै अलअहली अरब अस्पतालमा भएको हमलामा ५०० भन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको थियो। यस्तै इजरायली सेनाको हमालामा गएराति पनि ८० जना प्यालेस्टिनीको मृत्यु भएको छ। गाजाको खान युनिस क्षेत्रमा भएको उक्त आक्रमण हमास लडाकु लक्षित भएको इजरायली सेनाले जनाएको छ। इजरायली सेनाले हमास र आतंकवादी समूहमाथि निशाना बनाएको बताइरहेको छ।

योसँगै प्यालेस्टिनी भूमि गाजा क्षेत्रमा मात्रै मृत्यु हुनेको संख्या ६ हजार पुगिसकेको छ भने अर्कोपट्टि वेस्ट बैंकमा पनि कम्तीमा १०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यी दुवै क्षेत्रमा २० हजार भन्दा धेरै प्यालेस्टिनी घाइते भएका छन्। इजरायलमा भने एक हजार ४०५ जनाको मृत्यु भएको छ। यस्तै पाँच हजार ४३१ जना घाइते भएका छन्। 

यी दुई पक्षबीचको युद्धमा इरान इराक, लेबनान लगायत देशले हमासको पक्ष लिइरहेका छन्। विशेषगरी लेबनानको विद्रोही समूह हिज्बुल्लाहले इजरायलको उत्तरी क्षेत्रबाट हमला शुरू गरिसकेको छ। यस्तै सिरिया हमासको पक्षमा युद्धमा अघि सरेको छ। इजरायली सेनाको आक्रमणमा ८ सिरियाली सेनाको मृत्यु भइसकेको छ। सिरियाका सरकारी मिडियाका अनुसार थप ७ सिरियाली सेना घाइते भएका छन्। इजरायली सेनाले आफ्ना सीमामा रकेट आक्रमण गरेपछि प्रतिआक्रमण गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरबाट यस युद्धको तीव्र आलोचना भइरहे पनि इजरायलले हमाला रोक्ने कुनै कदम चालेको छैन। उल्टै झन् आक्रामक भएर गाजामा हमला गरिरहेको छ। योसँगै गाजामा मानवीय सहायताको संकट चुलिएको छ। आन्तरिक रूपमा विस्थापित भएका ६ लाखभन्दा धेरै प्यालेस्टिनी संयुक्त राष्ट्रसंघमा शरण लिएका छन्। विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले राहत साम्रग्री पठाए पनि उक्त सहायता पर्याप्त भइरहेको छैन।