औसत टोलीले भरिएको समूह ‘बी’, काे पुग्लान् नकाउटमा?

कतार विश्वकपकाे समूह 'बी' मा रहेका ङ्ल्यान्ड, अमेरिका, वेल्स र इरानमध्ये जाे काेही पनि नकआउट चरणमा पुग्न सक्नेछन्। किनभने पछिल्लाे समय यी कुनै पनि टाेली लयमा छैनन्।

काठमाडौँ– पछिल्ला खेल र नजिताका आधारमा विश्वकपको समूह ‘बी’ का टोलीलाई औसत मान्न सकिन्छ। त्यसैले समूहका इङ्ल्यान्ड, अमेरिका, वेल्स र इरान सबै टिम नकआउट चरणका दाबेदार हुन्।

अमेरिका कतार उत्रिनुअघि खराब लयमा थियो। एसियाको ‘पावर हाउस’ जापानसँग २–० गोल अन्तरको हार बेहोरेको अमेरिकाले अन्तिम अभ्यास खेलमा साउदी अरबसँग गोलरहित बराबरी खेलेको छ। यता, युईएफए नेसन्स लिगमा लगातार पराजय भोग्दै इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो। 

हालै भएका खेलमा इङ्ल्यान्ड हङ्गेरीसँग ४–० र इटालीसँग १–० ले पराजित भएको थियो। तर, चार पटकको विश्व विजेता जर्मनीविरूद्ध ३–३ को नतिजा निकाल्दै गोलको खडेरी तोडेको थियो। वेल्सले पछिल्लो ८ मध्ये एक खेलमा मात्रै जित निकालेको छ। इरानले उत्कृष्ट क्वालिफाइङ दौडका बावजुद जुलाईमा मुख्य प्रशिक्षक ड्रागन स्कोसिकलाई बर्खास्त गरेर कार्लोस क्विरोजलाई विश्वकपका लागि फिर्ता ल्याएको छ।

इरानका खेलाडी सरकार विरोधी प्रदर्शनमा संलग्न छन्। त्यसैले समूह बीमा अनुमान लगाएभन्दा फरक नतिजा निस्किन सक्छन्। लगातार ६ खेलमा जितविहीन रहेपनि इङ्ल्यान्ड यस समूहमा तुलनात्मक रूपमा बलियो टोली हो। चार वर्षअघि रसियामा आयोजना भएको विश्वकपको सेमिफाइनलान क्रोएशियासँग २–१ ले स्तब्ध बनेको इङ्ल्यान्ड घरेलु भूमिमा भएको युरोकप २०२० को फाइनलमा चुकेको थियो।

इङ्ल्यान्डलाई यसपटक डिफेन्समा चोटको चिन्ता पनि छ। चेल्सीबाट खेलिसकेका ‘राइट ब्याक’ रिस जेम्स र म्यानचेस्टर सिटीका ‘राइट ब्याक’ केली वाकर चोटमुक्त हुनेमा शंका छ। म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मगायरलाई ‘म्याच फिटनेस’मा समस्या छ।इङ्ग्ल्यान्डको आशा कप्तान तथा स्टार फरवार्ड ह्यारी केनको लयमा टेकेको छ।

टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी अन्तर्राष्ट्रिय फुटबलमा इङ्ल्यान्डकै सर्वाधिक गोलकर्ताको कीर्तिमाननजिक छन्। उनी वायन रोनीको कीर्तिमान ५३ गोलभन्दा मात्र २ गोलले पछि छन्। केन विश्वकपमा ‘गोल्डेन बुट’ अवार्डका एक मुख्य दाबेदार पनि हुन्। वेल्स ६४ वर्षपछि विश्वकपमा फर्किएको छ। यो टोलीले अन्तिमपटक सन् १९५८ मा विश्वकप खेलेको थियो। उसका लागि यसपटको विश्वकप छनोट पनि त्यति सजिलो भएन।

युईएएफए समूह ‘ई’ मा रहेर छनोट खेलेको वेल्सले ८ मध्ये ४ खेलमा जित, ३ मा बराबरी र १ हार बेहोर्दै ‘प्लेअफ’ खेलेको थियो। युक्रेनसँग ‘प्लेअफ’ फाइनल खेलेको वेल्सलाई विश्वकपसम्म पुग्न आत्मघाती गोलको साहरा लिनुपर्‍यो। खेलको ३४औँ मिनेटमा युक्रेनका एन्ड्री योर्मोलेन्कोले आफ्नै पोस्टमा गोल गरेपछि वेल्सलाई ६४ वर्षपछि विश्वकपको ढोका खुल्यो। वेल्स पछिल्ला केही छनोट चरणका प्रतिस्पर्धामा नजिकबाट बाहिरिएको थियो।

यसपटक भने इतिहास रच्ने संघारमा उभिएको छ। रियल मड्रिडमा लामो समय बिताएका गारेथ बेल सम्मिलित वेल्सको वर्तमान फुटबल टोलीलाई ‘गोल्डेन एरा’ भनिन्छ। वेल्स ५८ वर्षपछि सन् २०१६ को युरोकपको सेमिफाइनलमा पुगेको थियो। यद्यपि, पोर्चुगलसँग २–१ ले पराजित भयो। २०२० मा पनि वेल्स युरोकपमा छनोट भयो। तर, डेनमार्कसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो।

वेल्सको राष्ट्रिय फुटबल टोली कतार विश्वकपमार्फत् मुख्य फरवार्ड बेललाई अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ गर्न चाहन्छ। पाँच पटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितिसकेका उनले अस्ट्रियाविरूद्धको ‘प्लेअफ’ सेमिफाइनलमा २ र युक्रेनविरूद्धको अन्तिम छनोटमा १ गोल गरेका थिए। 

अमेरिकी क्लब एलएएफसीमा आबद्ध ३३ वर्षीय बेलको ढल्कदो उमेर र फिटनेसमाथि सधैँ प्रश्न उठिरहन्छ। त्यसैले बेललाई समूह चरणमा ८ दिनभित्र ३ खेलमा खेलाउनु प्रशिक्षक रब पेजका लागि पनि चुनौतीपूर्ण हुनेछ। तर, १०८ अन्तर्राष्ट्रिय खेल खेल्दै ४० गोल गरिसकेका बेल फिटनेसलाई सुधार गर्दै गोलका अवसरहरू सिर्जना गरेमा महत्वपूर्ण खेलाडी साबित हुन सक्ने छन्। वेल्सका लागि सुरूका दुई खेलमा अमेरिका र इरानलाई हराएर नकआउट चरणमा स्थान बनाउने अवसर छ।

उसले समूहको अन्तिम खेलमा इङ्ल्यान्डको सामना गर्नेछ। अमेरिकासँग विश्वभरका ठूला क्लबबाट खेलिरहेका प्रतिभाशाली खेलाडीहरू छन्। तर, पनि अमेरिका पछिल्ला ७ खेलमध्ये ६ खेलमा गोलबिनै रोकिएको छ। त्यसको फाइदा वेल्स र इरानलाई पुग्न सक्छ। अमेरिकाका लागि सबैभन्दा फलदायी विश्वकप १९५० थियो।

ब्राजिलमा आयोजना भएको उक्त विश्वकपको समूह चरणको खेलमा जो गेटजेन्सको गोलमा अमेरिकाले इङ्ल्यान्डमाथि १–० को जित निकालेको थियो। अमेरिकाले खेलेको अन्तिम विश्वकप २०१० को हो। दक्षिण अफ्रिकामा आयोजना भएको उक्त विश्वपमा अमेरिकाले इङ्ल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो।

समूह चरणमा १ जित र २ बराबरीसहित अमेरिका शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुग्यो। तर, अफ्रिकी राष्ट्र घानासँग २–१ गोलले पराजित हुँदै बाहिरिएको थियो। अमेरिकाले कतार विश्वकपमा यसपटक पनि समूह चरण पार गर्न चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचमा निर्भर हुनुपर्ने छ। २४ वर्षे पुलिसिचले गत वर्षदेखि चेल्सीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनी समूह ‘बी’को खतरनाक आक्रमणकर्तामध्ये एक हुन्। उनी टोलीका यस्ता खेलाडी हुन्।

जसले ठूला प्रतियोगितामा व्यक्तिगत रूपमै नतिजा प्रभावित पार्न सक्छन्। पुलिसिचले मार्चमा पानामाविरूद्ध ह्याट्रिक गरेका थिए। लगातार तेस्रोपटक विश्वकपमा छनोट भएको इरानको तयारीलाई त्यहाँको राजनीतिक तनावले ओझेलमा पारेको छ। प्रहरीले गिरफ्तार गरेकी २२ वर्षीया मासा अमिनीको हिरासतमै मृत्यु भएपछि दुई महिना यता देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। इरानमा विरोध प्रदर्शनमा भाग लिएका १५ हजार नागरिकलाई पक्राउ गरिएको छ।

राष्ट्रिय टोलीका धेरै पूर्वसदस्यलाई घटनाविरूद्ध बोलेको आरोपमा पक्राउ गरिएको छ। यद्यपि, इरानका पूर्वराष्ट्रिय खेलाडी अली करिमी अधिकारवादी भएका छन्। उनले विश्वलाई देखाउन कतारमा विरोध प्रदर्शनको आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन्। इरानमा चलिरहेको राजनीतिक परिस्थितिका कारण इरानलाई प्रतियोगिताबाट अयोग्य ठहराउन फुटबलको सर्वोच्च निकाय फिफालाई आग्रह गर्ने अभियान सुरू भएको थियो।

यता,रूसले किभमा इरानी ‘ड्रोन’ प्रयोग गरेर आक्रामण गरेको भन्दै धेरैले विश्वकपमा इरानलाई हटाएर युक्रेनलाई खेलाउन फिफासमक्ष आग्रह गरेका थिए। इरानी टोलीलाई रियल मड्रिडका पूर्वप्रशिक्षक कार्लोस क्विरेजले प्रशिक्षण दिँदै आएका छन्। इरानले छनोटका प्रभावशाली प्रदर्शन गरेको थियो। कम्बोडिया, हङकङ, बहराइन र इराक सहभागी छनोट खेलमा इरानले ८ खेलमध्ये ६ मा जित निकालेको थियो। २ मा हार बेहोरेको थियो।

सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा उरूग्वेलाई पनि हराएको थियो। तर, इरान स्टार स्ट्राइकर सरदार अजमोनबिना पनि खेल्नुपर्ने हुनसक्छ। उनले मांसपेसीमा समस्या बेहोरेका छन्।