पठाओको लोगो परिवर्तन, यस्तो छ कारण

झोला बोकेर दुईपांग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।

काठमाडाैँ– 'राइड सेयरिङ' र 'राइड हेलिङ' कम्पनी पठाओले आफ्नो पुरानो लोगो परिवर्तन गरेको छ। झोला बोकेर दुईपांग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।

आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको पठाओले जनाएको छ। नयाँ लोगोमा नागवेली सडक र 'थिम'मा पठाओको पहिलो अंग्रेजी अक्षर 'पी' लेखिएको छ। पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरूलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए।

नेपालमा ५ वर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरू प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन्।