सर्लाहीमा दुर्गाको मूर्ति सेलाउने क्रममा झडप, दुई प्रहरी घाइते

दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको हो।

काठमाडाैँ– सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते भएका छन्। दुर्गाको पूजा गरेर मूर्ति सेलाउन जाने क्रममा बुधबार अपरान्ह ५ बजेतिर भएको झडपमा स्थानीयले ढुंगा प्रहार गर्दा प्रहरीलाई सामान्य चोट लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारूले बताए।

उनका अनुसार झडपलाई नियन्त्रण गर्न १६ राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ। दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको डीएसपी पंजियार थारूले बताए।

उनका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ। जिल्लाको अन्य क्षेत्रमा पनि शान्त ढंगले मूर्ति सेलाउने काम सम्पन्न भएको उनले बताए।