अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दशैँ

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएका छैनन्।

ताप्लेजुङ– नवदुर्गाको प्रसादस्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ।  दशैँका बेला नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैँ मनाएका छन्।

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन्। घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन्। फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ। अहिले  लिम्बूको परिवार नै बगानमै छ। दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दशैँ पनि यही बगानमा मनाए।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दशैँ मनाए। एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ शुरू गर्ने चलन छ। उनले मंगलबार अलैँची बगानमा पूजापाठ गरे। पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ। उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ शुरू गरेका छन्। पूजा गर्ने बर्सेनिको चलन छ। बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उहाँको परिवार दशैँमा घर फर्कन नपाएको हो। “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन।”

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ। त्यसैले दशैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए। चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दशैँ मनाएको लिम्बूले सुनाउनुभयो। सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन। बगानमा धमाधम काम भएकाले घर जानै सकेनन्। ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन्।

मेरिङदेन गाउँपालिका-५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बताउँथे। तर अहिले अलैँची टिपाइ शुरू भएसँगै खेतलाका लागि पनि बिहान खाजा बनाउ र खाना बनाउनमा उनको व्यस्तता बढेको छ। छरछिमेकमा खेताला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएका छन्। अलैँची टिप्ने खेतालाहरूलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन्। बिहानको १० बजे खान खान समय हुन्छ। आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन्। साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई ५०० देखि ६५० रुपैयाँ ज्याला दिनु पर्दछ।