तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

कास्की– पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए।

उनले पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताएका छन्। विसं २०७२ को गोरखा भूकम्पकै कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनर्निर्माण कार्य जुटेको हो। समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ लाग्ने जानकारी दिए।

मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताउनुभयो। पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ। पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन्।

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ। मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको अध्यक्ष कुँवरले बताए। हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो।  पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनर्निर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि नौ करोड रुपैयाँको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनर्निर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा. भरत पहारीले दिए। चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनर्निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने उनले बताए।

उनका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुंगेधारा, डुंगाघाट गुरुयोजनामा छन्। मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ। कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ। किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ। तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ। तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन्।

प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ।  मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ। मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ।

फेवाताल २३.३० मिटर गहिराइ र ४.४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ। त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो। यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो। मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो। हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो।

तालको किनारबाट पाँच मिनेटभित्रै डुंगा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ। प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ।