टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीया कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कबड्डी खेल्न शुरू गरिन्।
बाल्यकालबाटै कबड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल शुरू गरेर पूरा गरिदिए। स्कुलमा कबड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफूलाई चर्चाको शिखरमा पुर्याइन्। शिक्षकको सहयोगको भरमा कबड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एशियाली खेलकुद प्रतियोगितामा महिला कबड्डी टोलीको महत्त्वपूर्ण खेलाडी थिइन्।
उक्त प्रतियोगितामा कांस्य पदक विजेता महिला कबड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए। उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
“विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन्,” उनी भन्छिन्, “हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनोटमा पर्नु सामान्य कुरो होइन।”
स्कुलस्तरमा हुने कबड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन्। त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधैँ प्रथम भयो। केही वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन्।
हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेल अगाडि चाहना व्यक्त गरिन्। “यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै बिनाविभागीय खेलाडी थिएँ,” कलावती भन्छिन्,“ राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एशियाली खेदकुदले सिकायो।”
नवौँ राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन्।
सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन्। “बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्याउनुभयो,” उनी भन्छिन्, “अब खेलसँगै परिवारमा खुशी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।”
तीन बहिनी र दुई भाइमध्ये बहिनीबाट कान्छी हुन् कलावती। उनले राज्यका लागि एशियाली खेलकुदमा पदक ल्याउँदा काठमाडौँमा प्रोत्साहन र सम्मान मिले पनि गृहप्रदेश र जिल्लामा भने वास्ता नगरिएको गुनासो गरिन्।
“विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रदर्शन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालेँ,” कलावती भन्छिन्, “सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागिदार हुन्थे होला।”
गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन्। “हामी खेलाडीले सम्मान मागेको होइन त्यो गुनासो पनि छैन,” कलावती भन्छिन्, “स्थानीयस्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन।”
कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट पनि कलावती अनुशासित र मिहिनेती खेलाडी भएको बताउँछन्। “उनी स्कुलस्तरको खेलबाट यहाँसम्म आएकी हुन्,” उनले भने, “त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै एशियाली खेलकुदसम्म पुग्नु उनको ठूलो सफलता नै हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
