सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारका फाइल खोलेको देखेर केही दलहरू सरकार ढाल्ने प्रयासमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ।
रुकुम– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीले शुरू गरेको तीन महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरू बीचको एकताको अभियान पनि रहेको बताएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा बिहीबार आयोजित शहीद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूबीच एकताको आवश्यकता औँल्याएका हुन्।
“हामी ठूलो पार्टीको रूपमा उदाएका थियौँ। विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौँ, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्तिप्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो,” उनले भने।
केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो। “हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौँ। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो,” उनले भने।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे। “हामीले निकै बलियो सरकार बनाएका छौँ। यो सरकार पाँच वर्ष नै रहन्छ। कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनका विरुद्ध लागेको पनि देखियो। अन्ततः कोशीमा पनि गठबन्धनकै सरकार बन्छ,” उनले भने।
सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनले आरोप लगाए। सरकारले पछिल्लो समय सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए। “हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,” प्रधानमन्त्री दाहालले भने।
वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उनले बताए। “हामीले मिटरब्याजीलाई कारबाही गरेका छौँ। नक्कली भुटानी शरणार्थी, सुनकाण्डमा मुछिएकालाई समातेका छौँ। यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरूको ठूलो साथ र सहयोग रहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
