अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गरिएको बाबु एड्भेन्चर्सका सञ्चालक सानोबाबु सुनुवारले बताए।
काठमाडौँ– काठमाडौँको चन्द्रागिरि डाँडामा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको छ। हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी 'बाबु एड्भेन्चर्स'ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो।
भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुने सुनुवार बताउँछन्। चन्द्रागिरि (२३ सय मिटर)बाट शुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिइन्छ र काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै समुद्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ।
सुनुवारका अनुसार प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको 'एरियल भ्यु'का साथै काठमाडौँ उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ। रसुवा र धादिङका भूभागसमेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।
सरकारी अनुमतिअनुसार कम्पनीले एक पटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन्। दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनको भनाइ छ।
स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौँ उपत्यकावासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताउँछन्। “नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ। काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु” उनले भने।
कम्पनी 'क्रस कन्ट्री' उडाउन गराउनसमेत तयारी अवस्थामा रहेको उनले बताए। चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भइसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ। अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए।
कम्पनीका अनुसार चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क तोकिएको छ। शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौँबाट प्याराग्लाइडिङ स्थलसम्मको आउजाउको सुविधा उपलब्ध हुनेछ। फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ। सोही प्याकेजका लागि विदेशी नागरिकले भने १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए।
कम्पनीको सवारीमा आउजाउ गर्न नचाहने नेपाली पर्यटकले ७ हजार २०० रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको अनुभव लिन पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
