यूएन महासचिवद्वारा इजरायली आरोपको खण्डन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्मा आफूले प्यालेस्टिनी गुनासोबारे बोलेको तर आफ्नो भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी सैन्य समूह हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूको आकलनलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। इजरायली कूटनीतिज्ञहरूले अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई सुरक्षा परिषद्मा महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए।

इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताएका थिए।

उनले ‘हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन’ भनेका थिए। 

मंगलबार गुटेरेसको सम्बोधनपछि संयुक्त राष्ट्रसंघका लागि इजरायलका स्थायी प्रतिनिधि गिलाड एर्डनले ट्विट गर्दै भने, “महासचिवको सम्बोधनले हमासको क्रूर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारण नै बढी थिए।” 

उनले महासचिवको राजीनामासमेत माग गरेका थिए। यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए।

यस्तै, इजरायलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतंकवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मंगलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे। 

बैठकपछि मंगलबार नै महासचिव गुटेरेसले हमासले बन्धक बनाएका केही परिवारलाई भेटेको र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी बन्दी बनाएका सबैको बिनासर्श रिहाइका लागि आह्वानसमेत गरेका थिए।

बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, “मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु।”

आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए।