राजनीतिक स्थायित्वका लागि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ : प्रधानमन्त्री

शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक सदनमा पुगेको सुनाउँदै विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाइ छ।

रुकुम पश्चिम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताएका छन्।

बिहीबार दिउँसो बाफिकोटका शहीद तथा बेपत्ता परिवार र घाइतेहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्तासम्बन्धी विधेयक टुंग्याउन सरकारले पहल गरिरहेको बताए।

“गाउँमै आएर भेट्न पाउँदा खुशी लागेको छ। महान् शहीदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईंहरू हुनुहुन्छ,” उनले भने।

उनले पार्टीले यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको बताउँदै यो अभियान पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको बताए। “फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईंहरूमाझ आएको छु,” प्रधानमन्त्री दाहालले भने।

उनले जनयुद्ध, शहीद, बेपत्ता र घाइतेप्रति सम्मानका लागि फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताए। शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक सदनमा पुगेको सुनाउँदै विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने उनको भनाइ छ।

“शहीद पार्कहरू, स्तम्भहरू बन्छन्, यसले शहीद परिवार, बेपत्ता योद्धा र अपांग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ,” उनले भने। 

कार्यक्रममा घाइते, शहीद परिवार र बेपत्ता पारिएका परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राखेका थिए।