दशैँ नसकिँदै किसानलाई धान स्याहार्ने चटारो [तस्वीरहरू]

दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त देखिन्छन्।

तस्वीर : फोटो लाइब्रेरी

पाल्पाका विभिन्न स्थानका किसानलाई यतिबेला धान काट्ने चटारो छ। दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त देखिन्छन्। माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेँसी, अर्गलीलगायत फाँटमा धान पाकेर फाँटहरू पहेँलै भइसकेको छ।

धानमा रोग नलागेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको किसानहरूको भनाइ छ। पानी नपरेका कारण केही भूभागमा धानखेती राम्रो हुन सकेको छैन। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यहाँ आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।

गत असार र साउनमा रोपेको धान थन्क्याएपछि किसानहरूले हिउँदै बाली लगाउने तयारी गर्छन्। धान काटेर खाली भएको खेतमा गहुँ, जौ, तोरी, केराउ, मुसुरोलगायतका हिउँदे बाली लगाउने गरिन्छ।