प्रधानसेनापति चीन प्रस्थान, चिनियाँ जनमुक्ति सेनासँग विशेष छलफल गर्ने

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा चीनमा आयोजना हुने दशौँ बेइजिङ स्याङ्सन फोरममा भाग लिन उनी त्यहाँ गएका हुन्।

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा चीनमा आयोजना हुने दशौँ बेइजिङ स्याङ्सन फोरममा भाग लिन उनी त्यहाँ गएका हुन्।

यही कार्तिक १२ देखि १४ गतेसम्म आयोजना हुन लागेको फोरममा भाग लिन प्रधानसेनापति शर्मा चीन गएका हुन्। चीन भ्रमणका क्रममा उनले चिनियाँ जनमुक्ति सेनाका सेन्ट्रल मिलिटरी कमिसनको 'चिन चिफ अफ स्टाफ'सँग नेपालका लागि सैनिक सहायता, सैनिक तालिम तथा सहकार्य लगायतबारे छलफल गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ।

प्रधानसेनापतिले त्यहाँ चिनियाँ जनमुक्ति सेनाको तालिम केन्द्र पनि भ्रमण गर्ने कार्यक्रम छ। साथै, चीनको विभिन्न पर्यटकीय क्षेत्र स्याङ, गोन्जाओको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ। यस्तै, शर्माले चीनस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा पनि भाग लिनेछन्।

चीनको भ्रमण सकेर प्रधानसेनापति शर्मा यही कार्तिक १६ गते स्वदेश फर्कने सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।