बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारीसाधनले एक हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।

दमौली– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा रुपैयाँ लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ।

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा शुक्रबार बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ। 

दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारीसाधनले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ। विष्टले भने, “दशैको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ।”

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट एक हजार रुपैयाँ लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ।