राष्ट्रसंघका महासचिव लुम्बिनी र पोखरा जाने, काठमाडौँमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

यूएनका महासचिव एन्टोनियो गुटेरेसले नेपाल बसाइँका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने भएका छन्।

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखरा जाने भएका छन्। राष्ट्रसंघका महासचिव गुटेरेसले कात्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइँका क्रममा उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। यसका साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन्।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे प्रत्यक्ष अवलोकन गर्ने र प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए। पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा दोस्रो कार्यकाल हो। उनले सन् २०१७ मा यूएनको महासचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपाल भ्रमण गर्न लागेका हुन्।

महासचिव गुटेरेसका साथमा शान्ति मिसनका उपमहासचिव ज्याँ पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हम्डी, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य पदाधिकारी तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको राष्ट्रिय टोली रहेका छन्।