प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्ररबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा कुराकानी भएको थियो। राष्ट्रसंघका महासचिव नेपालको औपचारिक भ्रमणका लागि कात्तिक १२ गते काठमाडौँ आउँदै छन्। उनी कात्तिक १४ गतेसम्म नेपालमा रहने कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। जसअनुसार उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पोखराको भ्रमण गर्नुका साथै जलवायु परिवर्तनको असरबारे संवाद गर्ने छन्। 

भेटका क्रममा उनीहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि अध्ययन गर्ने बनेको उपसमितिले चार वटा विषय शीर्ष नेताहरूले टुंग्याउनुपर्ने सुझावसहितको प्रतिवेदन संसदीय समितिमा बुझाइसकेको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पूर्णता नपाउँदा द्वन्द्वपीडितहरू न्याय नपाएको गुनासो गर्दै आएका छन्।