२० लिटर दूध टाउकोमा राखेर दिनहुँ ६ किलोमिटर टाढाको जनकपुर हिँडेरै आउजाउ गर्ने उनी बिहान ४ बजे नै उठ्छिन्। शहरका सडक र गल्ली चहार्दै दूध बाँडेर फर्किँदा दिउँसोको २ बजिसक्छ। यो १५ वर्षदेखिको दैनिकी हो।
जनकपुरधाम– जनकपुरबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ कटरैइत गाउँ। त्यहाँका धेरैजसो महिलाहरू सूर्योदय हुनुअगावै तरकारी र दूध लिएर जनकपुरका बजारहरूमा पुगिसक्छन्। कोही भने घरका नियमित कामकाज सकेर मात्रै बजार जान्छन्। उत्तरबरिया टोलकी चन्द्रदेवी पनि आफ्ना काम सकेर बिहान अलि ढिलो निस्कने समूहमा पर्छिन् जो १५ वर्षदेखि निरन्तर दूध बेचिरहेकी छन्।
२० लिटर दूधको भाँडा टाउकोमा राखेर हरेक दिन हिँडेरै घरबाट जनकपुर आउजाउ गर्ने उनी बिहान ४ बजे नै उठ्छिन्। सबैभन्दा पहिला भैँसीलाई घाँस काट्न जान्छिन्। त्यहाँबाट फर्केर दूध दुहुन्छिन्, परिवारका लागि खाना पकाउँछिन र टाउकोमा दूधको भारी बोकेर शहरतिर निस्कन्छिन्।
चन्द्रदेवीका अनुसार उनीसँगै गाउँका पाँच महिलाहरू दूध बेच्न दिनहुँ जनकपुर पुग्छन्। सबैजना सँगै हिँड्दा कष्ट र थकान महसुस नहुने उनी बताउँछिन्। “हामी सबैको कथा एउटै छ। घरको कामकाज सकेर बिहान अबेर दूध बेच्न जान्छौँ। बाटोमा गफिन्छौँ। कतिबेला जनकपुर पुगिन्छ पत्तै हुँदैन,” उनी भन्छिन्, “शुरूमा धेरै गाह्रो भयो। २० लिटरको भारी बोकेर दिनदिनै यति लामो दूरी पार गर्न सजिलो थिएन। तर अहिले त हाम्रो दैनिकी नै बनिसक्यो।”
चन्द्रदेवीका तीन छोरी र एक छोरा छन् जसमध्ये एउटी छोरीको बिहे भइसकेको छ। दुई छोरी स्कुल जान्छन्। छोराले भने आठ कक्षापछि पढाइ छोडिसकेका छन्। श्रीमान् सुरेश यादव जनकपुरमै काठमिलमा काम गर्छन्। उनको कमाइले खर्च धान्न नपुगेकै कारण आफूले दूध बेच्न थालेको उनी बताउँछिन्।

विगत दुई महिनादेखि भने चन्द्रदेवीलाई केही राहत मिलेको छ। अहिले कटरैइतबाट जनकपुरसम्म अटोरिक्सा गुड्न थालेको छ। जनकपुर पुगेर गाउँ फर्किएको भाडा जाँदा र आउँदा ५०/५० का दरले दिनमा १०० रुपैयाँ लाग्छ। “सधैँ रिक्सा चढ्दा त यो हिसाबले महिनाकै तीन हजार रिक्सावालालाई नै तिर्नुपर्छ। तर यति लामो बाटो हिँड्नु नपर्दा पैसा खर्च भएकोमा पछुतो छैन। अब सधैँ रिक्सा नै चढ्छु, कहिलेकाहीँ नपाउँदा मात्र हिँड्छु,” उनी भन्छिन्।
गाउँदेखि शहरको यात्रा
शुरूका चार वर्ष जति चन्द्रदेवीले गाउँमै दूध बेचिन्। ससुरा रामजतन यादवले भनेअनुसार कहिलेकाँही कुनै कुनै घरमा दूध पुर्याउन जान्थिन् उनी। त्यतिबेला गाउँबाट हिँडेर जनकपुरसम्म दूध बेच्न जाने काम ससुराकै हुन्थ्यो। तर पछि अस्वस्थताका कारण शरीर कमजोर भएपछि उनले त्यो काम बुहारीलाई जिम्मा लगाए अनि आफू चाहिँ भैँसीको हेरचाहमा सहयोग गर्न थाले।
गाउँभित्रै ससुराले पठाएका घरमा दूध दिन जान थालेको केही दिनमै लगभग आधा जनकपुर घुमेर दूध पुर्याउने काम चन्द्रदेवीले सम्हालेकी थिइन्। शहरका सडक र गल्ली चाहार्दै २० घरमा एक/एक लिटरका दरले दूध बाँडेर फर्किँदा दिउँसोको २ बजिसक्छ। चन्द्रदेवीको खाना खाने समय त्यतिबेला नै हो। त्यसपछि फेरि भैँसीलाई घाँसको जोहो गर्न जान्छिन्। फर्केर परिवारको लागि खाना बनाई सबैलाई खुवाएर सुत्दा रातको ११ बजिसकेको हुन्छ। उनको दैनिकी यस्तै कसिलो छ।
“खासमा यति गर्नुको कारण नै परिवार चलाउनका लागि हो। घरमा कमाउने मान्छे छैनन्। छोराछोरीको पालनपोषण र घरपरिवारको आवश्यकता पूरा गर्न म आफैँले रोजेको बाटो हो यो,” उनी भन्छिन्, “काम जति कठिन भए पनि बाध्यताको अगाडि मेरो दु:ख केही होइन।”

चन्द्रदेवीले बजार पुगेर बेच्न थाल्दा दूधको मूल्य लिटरको ४० रुपैयाँ थियो, अहिले १०० रुपैयाँ पुगेको छ। गाउँमा त अझै पनि लिटरको ७० रुपैयाँ मात्र चलेको उनी बताउँछिन्।
चन्द्रदेवी हँसिलो र मिजासिलो स्वाभावकी छिन्। आफ्ना ग्राहकलाई उनी सकेसम्म खुशी बनाई राख्छिन्। ग्राहकले पैसा समयमा नदिँदा पनि रिसाउँदिनन्। बरु पैसा भएको बेला दिनुस् भन्दै हाँसीहाँसी ग्राहक रिझाउँछिन्। यस्तै स्वाभावले गर्दा नै उनीसँग दूध लिइरहेको चन्द्रदेवीकी ग्राहक अर्चना कुमारी बताउँछिन्। उनले चन्द्रदेवीबाट १० वर्षदेखि दूध लिइरहेकी छन्।
“उनको स्वभाव नै यति सरल र नम्र छ कि मैले अरूसँग दूध लिने कुरा सोचेकै छैन। दूध पातलो भएको दिन गुनासो गर्दा पनि हाँसेरै स्वीकार्छिन् र अर्को दिन राम्रो ल्याइदिने वचन दिन्छिन्। यस्तै स्वभावले मलाई चन्द्रदेवीसँग टाढिन दिएको छैन,” अर्चना भन्छिन्, “अरू दूध बेच्नेहरू यस्ता हुँदैनन्। उनीहरूलाई गुनासो गर्दा दूध लिन मन छैन भने नलिनुस् भनेर ठाडै झर्किन्छन्।”
११ वर्षदेखि दूध लिइरहेकी बबी चौधरी पनि चन्द्रदेवीको स्वभावको प्रशंसा गर्छिन्। “दूध कम भएर हल्का पानी मिसाएको दिन दूधवाली (चन्द्रदेवी) ले इमानदारसाथ आफैँ भन्छिन्। साबिकमा अरूको भन्दा राम्रो दूध उनकै हुन्छ। आजसम्म दूध नाप्दा उनले कहिल्यै कम गरेकी छैनन्। बरु पुगेको बेला बढी नै दिन्छिन्,” चौधरी भन्छिन्, “हामीले कैयौँ पटक अब अर्कै बिक्रेतासँग दूध लिनुपर्छ कि भनेर सोच्यौँ। बिहानै दूधको चिया खाने बानी भएकोले दूधबाली ढिला आइदिँदा रिस पनि उठ्छ। तर स्वभाव राम्रो भएकाले टाढाबाट आउँदा ढिला भइहाल्छ भनेर चित्त बुझाउँछौँ, उनको विकल्प खोजेका छैनौँ।”
पितृसत्तात्मक सोँचलाई चुनौती
मधेशका गाउँ-देहातमा अझै पनि बुहारीलाई घरबाहिर निस्कन प्रतिबन्ध रहेकोमा परिवारलाई आत्मनिर्भर बनाउन चन्द्रदेवीले वर्षौंदेखि घर बाहिर निस्केर गरेको दूध बिक्रीको व्यवसायले पितृसत्तात्मक सोचलाई चुनौती दिएको चन्द्रदेवीका अर्का ग्राहक रुपेश यादव बताउँछन्।

“यिनी कसरी एक दिन पनि नछुटाई दूध लिएर आउँछिन् त्यो सोचेर म त अचम्ममा पर्छु। महिनावारी भएको बेला पनि टाउकोमाथि २० लिटर दूधको वजन बोकेर हिँड्दा कति पीडा हुन्छ होला! यति दु:ख गर्ने मधेशका महिलाहरूको समस्या राज्यले कहिले सुन्ला र देख्ला?,” यादव भन्छन्, “उनीजस्तै महिला यहाँ कैयौँ छन्। तर तिनीहरूको लागि न यातायातको सुविधा छ, न त व्यवसाय गर्न कुनै प्रोत्साहन नै। यस्तो संवेदनशील विषयमा यहाँको समाज र राज्य दुवै मौन छन्।”
चन्द्रदेवी पनि पितृसत्तात्मक मानसिकतालाई बेवास्ता गर्दै परिवारका लागि आफूले यो संघर्ष गरिरहेको बताउँछिन्। ससुरा राम जतनको हौसलाबाट नै आफूलाई यत्रो आँट आएको उनको अनुभव छ। “यसमा मेरो ससुराको ठूलो सहयोग छ। अरूको ससुराले घरबाहिर त के, अनुहार ढाक्ने घुंघट माथि उचाल्न पनि दिँदैनन्,” उनी भन्छिन्, “तर मेरा ससुराले त्यस्तो मान्यता राख्ने समाजले के सोच्ला भन्ने कुरालाई बेवास्ता गर्दै मलाई कमाएर खान सिकाउनुभयो। यसरी परिवार पाल्ने अभिभारा बोक्न पाएकोमा उहाँप्रति कृतज्ञ छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
