दशैँ बिदापछि खुले सरकारी कार्यालय, सुनसान सिंहदरबार

शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

काठमाडौँ– दशैँको सरकारी बिदा सकिएर शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन्। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रका सबै मन्त्रालय खुले पनि कर्मचारीको भने न्यून उपस्थित थियो।

शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ। सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा न्यून संख्यामा कर्मचारी उपस्थित थिए भने सेवाग्राही पनि कम नै देखिन्थे।

कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। बिदा मनाउन गाउँ पुगेकाहरू पनि कर्मथलो फर्क्रिने क्रम जारी छ। फर्किनेहरूका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरूमा भीडभाड शुरू भएको छ भने सुनसान बनेको काठमाडौँ उपत्यका पनि चलायमान हुन थालेको छ।