नामिबियामा एक सयभन्दा बढी जंगली भैंसीको डुबेर मृत्यु, यस्तो छ कारण

अफ्रिकी जंगली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण चोबे राष्ट्रिय निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटकी गन्तव्यका रूपमा चिनिन्छ। 

नामिबियामा एक सयभन्दा बढी जंगली भैंसीको डुबेर मृत्यु भएको छ। त्यहाँको जाम्बेजी क्षेत्रमा गत शुक्रबार भैंसीहरू डुबेर मरेको नामिबियाको अनलाइन पत्रिका जाम्बियनले जनाएको छ।

नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार चोबे नदी नजिकै यो घटना भएको हो। सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका  थिए। 

उनले भने, “हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन्।" उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही संख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताएका छन्। चोबे नदीमा यसअघि पनि ठूलो संख्यामा भैंसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए। 

चोबे नदी नामिबियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ। अफ्रिकी जंगली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण यो निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ।